दफा २६
सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न नहुने
(१) निर्वाचनको प्रचार प्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन हुँदैन ।
तर प्रचलित कानून बमोजिम पाएको सुविधा उपभोग गर्न यस उपदफाले बाधा पार्ने छैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्नेलाई निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउनबाट रोक्न आदेश दिई त्यस्तो कार्य गर्ने राजनीतिक दल, उम्मेदवार वा व्यक्तिलाई कारबाहीको लागि आयोगमा लेखी पठाउनेछ ।
(३) उपदफा (१) विपरीतको कार्य गर्ने राजनीतिक दल, उम्मेदवार वा व्यक्तिलाई आयोगले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) उपदफा (१) मा उल्लिखित सम्पत्ति नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्थाको रहेछ भने त्यस्तो सम्पति प्रयोग गर्न दिने अधिकारीलाई विभागीय कारबाही हुनेछ ।